पुष्करराज बुढाथोकी
भक्तपुर, २१ मङ्सिर ०८२ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुनका लागि १४ बर्ष पुरा भएकै हुनुपर्ने व्यवस्था कायम भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले १४ वर्ष उमेर पुरा भएका विद्यार्थीले मात्र एसइई परीक्षामा सहभागी हुन पाउने व्यवस्था गर्नका लागि देशभरका विद्यालयमा सर्कुलर जारी गरेको छ ।
बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्यालले जन्म मितिमा संशोधन गर्न सकिने प्रावधान रहेकाले उमेर नपुगेको भए त्यसलाई संशोधन गरेर परीक्षा आवेदन फाराम भर्न सकिने बताउनुभयो ।
सदस्य सचिव अर्यालले एक सर्कुलर मार्फत कक्षा १ मा विद्यार्थी भर्ना हुँदाको प्रमाणित अभिलेख स्थानीय पञ्जिकाधिकारीको कार्यालयलाई उपलब्ध गराई जन्मदर्तामा उल्लिखित विवरण संशोधनसम्बन्धी कार्यमा सहजीकरणको व्यवस्था मिलाइदिन अनुरोध गरिएको बताउनुभयो ।
बोर्डले २०८२ को एसइईमा सहभागी हुने विद्यार्थीको परीक्षा आवेदन फाराम र २०८३ को परीक्षाको सहभागी हुन कक्षा ९ मा रजिस्ट्रेसन फाराम दर्ताको काम गरिरहेको जनाएको छ ।
शिक्षा नियमावलीमा ५ वर्ष उमेर पुरा भएकालाई कक्षा १ मा भर्ना र जुन सालको एसइईमा सहभागी हुने हो सोही सालको चैत मसान्तमा १४ वर्ष पुरा भएको हुनुपर्ने व्यवस्था छ ।
नाम, थर, जन्ममिति सच्याइएका विद्यार्थीको जन्मदर्तामा उल्लेख भएको विवरण इएमआईएस प्रणालीमा कक्षा १ देखि कक्षा ७ सम्मको हकमा विद्यालयबाटै र कक्षा ८ का हकमा सम्बन्धित स्थानीय तहबाट सच्याउन सकिने ब्यहोरा शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको बैठकबाट निर्णय भएको ब्यहोरा जानकारीका लागि बोर्डले अनुरोध छ ।
बोर्डले गरेको सर्कुलर गृह मन्त्रालय पञ्चिकरण विभाग, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई, ७५३ वटै स्थानीय तहमा बोधार्थ पठाइएको सदस्य सचिव अर्यालले जानकारी दिनुभयो ।
शिक्षा मन्त्रालयले चार बर्ष अघि विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा मात्र उमेर हद लाग्ने भन्दै १४ वर्षे प्रावधान हटाउने निर्णय गरेको थियो । त्यसअघि पनि एसइईमा सहभागी हुन १४ वर्षे उमेर हद थियो ।
बोर्डले २०८० देखि १४ वर्षे उमेर हद लागु गर्ने निर्णय गरेपछि अन्यौल देखिँदै आएको छ । रेडियो नेपाल अनलाइनबाट