काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पहिलो क्वालिफायर खेल हुँदैछ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे साविक उपबिजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।
सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । यी दुई टिम लिग चरणमा भिड्दा सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले ब्रेक लगाएको थियो । आज जित्ने टोली सिधै फाइनल पुग्नेछ ।
लिग चरणमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४८ रनको लक्ष्य विराटनगरले ११।५ ओभरमै चार विकेटमात्र गुमाएर भेट्टाएको थियो । यसैकारण लिगमा सातमध्ये ६ खेल जितेको भए पनि आज सुदूरपश्चिमलाई विराटनगरको त्यस्तै विस्फोटक ब्याटिङको डर छ ।