Line Khabar
सोमवार, पुस ७, २०८२ | December 22, 2025

हालको खबर

  • होमपेज
  • पत्रकारिता पेशालाई बिश्वसनीय र मर्यादित बनाउन प्रेस काउन्सिलका अध्यक्ष आचार्यको आग्रह

पत्रकारिता पेशालाई बिश्वसनीय र मर्यादित बनाउन प्रेस काउन्सिलका अध्यक्ष आचार्यको आग्रह

पत्रकारिता पेशालाई बिश्वसनीय र मर्यादित बनाउन प्रेस काउन्सिलका अध्यक्ष आचार्यको आग्रह
प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्य

चितवन, ७ पुस ०८२ । प्रेस काउन्सिल नेपालको आयोजना एवम् नेपाल पत्रकार महासंघ चितवन शाखाको संयोजनमा आइतबार भरतपुरमा पत्रकार आचारसंहिता जागरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यले नागरिक सरकारको नियुक्तिमा प्रेस काउन्सिललाई सुधार्न आफु नेतृत्वमा आएको बताउनुभयो । पत्रकारहरु कुनै राजनीतिक दलको सदस्य बन्न नहुने उहाँको भनाई थियो ।

पत्रपत्रिका वर्गिकरणमा समस्या रहेको कुरा आफुले सुनेको बताउँदै उहाँले वर्गीकरणमा कुनै समस्या रहेछ भने त्यसलाई सुधारेर जाने बताउनुभयो । पत्रकारिता पेसालाई बिश्वसनीय र मर्यादित बनाउन काउन्सिलले उपयुक्त कदम चाल्ने उहाँको भनाई छ । १५ दिनअघि मात्रै उहाँ काउन्सिलको अध्यक्षमा नियुक्त हुनुभएको थियो ।

प्रेस काउन्सिल नेपालका सूचना अधिकारी एवम् आचारसंहिता अनुगमन तथा उजुरी सुनुवाई महाशाखा प्रमुख रामशरण बोहराले पत्रकारले गल्ती सच्याउन तत्परता देखाउनुपर्ने बताउनुभयो । आफुले गरेका गल्ती सच्याउन नमान्ने पत्रकारको प्रमुख कमजोरी रहेको भन्दै उहाँले गल्ती सच्याउँदा पत्रकार र सञ्चारमाध्यमप्रतिको विश्वास अझ बढ्ने बताउनुभयो ।

काउन्सिल पत्रकार र सञ्चार माध्यमलाई कारबाही मात्रै गर्ने निकाय नभएको उहाँले स्पष्ट पार्नुभयो । आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चारमाध्यमलाई नियमन गर्न प्रेस काउन्सिल ऐन रहेको बताउँदै उहाँले त्यस ऐनलाई कार्यान्वयन गर्ने गरिएको बताउनुभयो ।

काउन्सिलको स्वअनुगमनमार्फत ५७६ उजुरी संकलन गरी कारबाही प्रक्रिया अघि बढाइएको समेत उहाँले बताउनुभयो । पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) हाल कार्यान्वयनमा छ । चालु आर्थिक वर्षमा काउन्सिलमा २७० उजुरी परेको बोहराले जानकारी दिनुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य शन्तराम बिडारीले पत्रकार र मिडिया जगतको समस्या आफुहरुले बुझेको भन्दै समाधानका लागि सबैले सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अर्का सदस्य नकुल अर्यालले प्रेस काउन्सिलले पत्रिका बर्गिकरणमा कुनै विभेद नगरेको भन्दै चित्त नबुझेमा पुनः निवेदन दिन सक्ने व्यवस्था रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष राधेश्याम खतिवडाले आचारसंहिता पत्रकारहरुको सिमा रेखा भएको उल्लेख गर्नुभयो । पत्रकारहरुले आफ्नो सिमा रेखाको ख्याल गर्नुपर्ने भन्दै उहाँले प्रविधिको फड्को मारिरहेको अवस्थामा आचारसंहिता संशोधन गर्नुपर्ने बेला भएको बताउनुभयो ।

पत्रकार महासंघ, चितवनका पूर्व अध्यक्ष कृष्ण गिरीले कानुनको क्षेत्रमा लामो समय काम गरिरहेका व्यक्ति काउन्सिलको नेतृत्वमा आउनु सुखद् पक्ष रहेको बताउँदै पत्रकार आचारसंहिताको पालना पत्रकारको नैतिक दायित्व भएको उल्लेख गर्नुभयो । अहिले नेपालमा सेल्फ सेन्सरसीपको अवस्था रहेकोले यसको अन्त्य गर्न जरूरी रहेको उहाँले बताउनुभयो ।

पत्रकार महासंघ, चितवनका अर्का पूर्व अध्यक्ष कृष्ण भण्डारीले पत्रकार आचारसंहिता जागरण कार्यक्रम निकै महत्वपूर्ण रहेको भन्दै यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष बसन्त पराजुलीले पत्रकारलाई जिम्मेवार बनाउन आचारसंहिता बुझ्नु र पालना गर्नु अपरिहार्य भएको बताउनुभयो । चितवन जिल्ला अदालत बार एसोसिएसनकि अध्यक्ष फूलमाया रानाभाटले पत्रकारहरू प्रश्नभन्दा सुझाव दिन बढी तत्पर देखिने गरेको टिप्पणी गर्दै “पत्रकारले सुझाव दिने कि प्रश्न सोध्ने ?” भनेर प्रश्न गर्नुभयो ।

महासंघ, चितवनका उपाध्यक्ष दिपेन्द्र अधिकारीले पत्रकारबाट पनि गल्ती हुन सक्ने भए पनि त्यसलाई स्वीकार गरी सच्याउन तयार हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा जिल्लाका पत्रकारहरुले आचारसंहिता र जिल्लाका मिडियाको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा शाखा कोषाध्यक्ष कृष्ण आचार्यले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका