काठमाडौँ, २५ मङ्सिर ०८२ । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्स र सुदुरपश्चिम रोयल्स खेल्ने भएका छन् । आज भएको इलिमिनेटरमा विराटनगर किङ्सलाई पाखा लगाउँदै लुम्बिनीले साविक उपविजेता सुदुरपश्चिमसँगको फाइनल भेट पक्का गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले दिएको १३५ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभर खेल्दै मात्र ९४ रनमा अलआउट भयो । फाइनल खेल शनिबार हुनेछ ।
विराटनगरलाई सस्तैमा समेट्न लुम्बिनीले प्रयोग गरेका पाँचमध्ये पाँचै बलरले विकेट लिए । तिलक भण्डारीले तीन विकेट लिए । चार ओभरमा तिलकले ३.७५ को इकोनोमीसहित १५ रनमात्र खर्चिए ।
अभिषेश गौतम, जेजे स्मिथ र रुबेन ट्रम्पेलमनले समान दुई विकेट लिए । शेर मल्लको नाममा एक विकेट रह्यो ।
विराटनगरका साम हेजलेटले सर्वाधिक ३४ रन बनाए । उनले २८ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । नरेन भट्टले २१ र मर्चेन्ट डी लांगेले १७ रन थपे । विराटनगरका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
ओपनरद्वय मार्टिन गप्टिल र फाफ डू प्लेसिसले क्रमशः दुई र तीन रनमात्र जोडे । तेस्रो क्रमका ब्याटर लोकेश बम ‘गोल्डेन डक’ भए । शंकर रानाले सात रन थपे । बसिर अहमेद र कप्तान तथा मार्की सन्दीप लामिछानले समान तीन रनमा पभेलियन फर्किए । प्रशितक जिसीको नाममा दुई रन रह्यो ।
टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रनको योगफल खडा गर्यो ।
लुम्बिनीका ओपनर डार्सी शर्टले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्कासहित ३४ रन थपे । यी दुईले ८–१ को स्थितीबाट यी दुईले ६९ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ सम्हालेका थिए । तर, ११.२ ओभरमा ७७–२ को स्थितीबाट लुम्बिनी २७ रन जोड्दा १६ ओभरमा १०४–६ को स्थितीमा पुगेको थियो ।
निरोसान डिकवेलाले २२ बलमा चार चौकासहित २९ रन जोडे । रुबेन ट्रम्पेलमनले ११ रन बनाए । लुम्बिनीका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । सन्दीप जोरा र जेजे स्मिथले ‘डक’ भए । दीलिप नाथ र दीनेश अधिकारी पनि समान एक रनमा पभेलियन फर्किए ।
विराटनगरका स्पिनर सुवास भण्डारीले तीन विकेट लिए । चार ओभरमा उनले ३.५० को इकोनोमीसहित १४ रनमात्र खर्चिए । चार ओभर बलिङ गरेका प्रतिश जिसीले २७ रन खर्चिदै तीन विकेट लिए । कप्तान सन्दीप लामिछानले चार ओभरमा १८ रन खर्चिएर दुई विकेट लिए ।
गत सिजन पुछारमा रहँदै प्रतियोगिता टुंग्याएको लुम्बिनीले अब दोस्रो संस्करणको उपाधिका निम्ति साविक उपविजेता सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमले यसअघि पहिलो क्वालिफायरमा विराटनगरविरुद्ध नै ७७ रनको जित निकाल्दै लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको थियो ।
प्रतियोगितामा विराटनगरले लिग चरणमा दोस्रो स्थान हासिल गर्दै प्लेअफ यात्रा तय गरेको थियो । यता, लुम्बिनी भने चौथो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो ।