काठमाडौँ, ७ पुस ०८२ । जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार १७९ जना जनामा जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमण भएको थियो ।
यस वर्ष जापानिज इन्सेफ्लाइटिस्का एक हजार ७३९ शङ्कास्पद बिरामीको परीक्षण गरिएको उहाँले बताउनुभयो । जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण एक पटक भएपछि अर्को पटक नभए पनि शङ्कास्पद बिरामीलाई भने अर्को पटक जापानिज इन्सेफ्लाइटिस् हुन सक्ने उहाँको भनाई छ ।
गत वर्ष सन् २०२४ मा २५ जनाको जापानिज इन्सेफ्लाइटिस्बाट मृत्यु भएका थिए । उहाँले बर्सेनि जापानिज इन्सेफ्लाइटिस्बाट मृत्युु हुनेको सङ्ख्या बढ्दै गएको बताउनुभयो । गत वर्ष जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण ८६ जना देखिएको थियो ।
सन् २०१४ मा चार जना, सन् २०१७ मा एक जना र सन् २०२३ मा सात जना जापानिज इन्सेफ्लाइटिसबाट मृत्युु भएका थिए ।
डा गौतमका अनुसार यस वर्ष तीन वर्षदेखि ८९ वर्षसम्मका मानिसलाई जापानिज इन्सेफ्लाइटिस् देखिएको थियो । जापानिज इन्सेफ्लाइटिस्बाट २८ जिल्ला उच्च जोखिममा छन् ।
मृत्यु हुने अधिकांश ४० वर्षमाथिका छन् । उहाँले मृत्यु भएकामध्ये नौ प्रतिशतले खोप लगाएको तथा अन्यले खोप नलगाएको पाइएको बताउनुभयो । गौतमले चिसो बढेकोले अब भने जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण कम हुने बताउनुभयो ।
यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ । नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस्विरुद्धको खोप लगाइएको छ ।
जापानिज इन्सेफ्लाइटिस् ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि प्रजनन स्थल बन्ने हुनाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुन्छ । नेपालमा सन् १९७८ मा पहिलोपटक रुपन्देही जिल्लामा जापानिज इन्सेफ्लाइटिस् देखिएको थियो ।