काठमाडौँ, १९ मङ्सिर ०८२ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी हुन सबै दललाई आह्वान गर्नुभएको छ । शुक्रबार निर्वाचनसम्बन्धी सर्वपक्षीय छलफललाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले उक्त आह्वान गर्नुभएको हो ।
“हाम्रो कुनै निजी स्वार्थ र आकांक्षा छैन। केही अतिरिक्त प्राप्तिका लागि हामी कुनै काम गरिरहेका छैनौँ। एउटा विषम परिस्थितिमा हाम्रो माग भयो, देशले पत्यायो, हामी आयौँ। देशले सुम्पेको यो अभिभारा पूरा गर्नेबाहेक अर्को कुनै उद्देश्य हामीसँग छैन”, सर्वपक्षीय छलफलमा प्रधानमन्त्री कार्कीले भन्नुभयो, “तपाईंहरु चुनावका लागि एक ठाउँमा उभिदिनुहोस्।”
बैठकमा आगामी फागुन २१ गतेका लागि घोषणा भएको चुनावको विषयमा छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोग, तथा जेनजी अगुवासँगै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुभएको थियो ।
छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, र सञ्चारमन्त्री जगदीश खरेल सहभागी हुनुहुन्थ्यो ।
यस्तै नेपाली काँग्रेसका तर्फबाट गगनकुमार थापा र पुष्पा भुसाल, नेकपा एमालेको तर्फबाट नेताहरू शङ्कर पोखरेल र महेश बर्तौला नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट शक्तिबहादुर बस्नेत र प्रकाश ज्वाला, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को तर्फबाट शिशिर खनाल र सोबिता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट राजेन्द्र गुरुङ र भुवन पाठक लगायतका नेताहरू छलफलमा सहभागी हुनुभयो ।
यसैगरी छलफलमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी तथा आयुक्तहरू जानकीकुमारी तुलाधर र सगुन शमशेर राणा तथा सबै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सुरक्षा निकायले आफूहरू घोषित चुनावमा सुरक्षा दिन तयार रहेको ब्रिफिङ गरेका बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
“सुरक्षा निकाय फागुन २१ मा हुने चुनाव गराउनका लागि सुरक्षा दिनका लागि तयार छ भनेर उहाँहरू (सुरक्षा निकायका प्रमुखहरू)ले हामीहरू सबैलाई स्पष्ट रूपमा भन्नुभएको छ” बैठकपछि मन्त्री खरेलले भन्नुभयो । बैठकमा निर्वाचन आयोगका पदाधिकारीहरूले चुनाव गराउने दिशामा आफूहरू अघि बढिसकेको ब्रिफिङ गरेको मन्त्री खरेलले जानकारी दिनुभयो । चुनावको वातावरण बनाउन सरकार तयार रहेको पनि उहाँले बताउनुभयो ।