काठमाडौँ, २० मङ्सिर ०८२ । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताउनुभएको छ ।
निर्वाचनको दिन आउन अब ९० दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै कार्यबाहक प्रमुख आयुक्त भण्डारीले नेपाल सरकारले आयोगको मागबमोजिम आवश्यक सबै प्रबन्ध गरेको अवस्था र आयोगले कार्यतालिका तथा कार्यक्रम प्रकाशन गरी सोही अनुसार काम भइरहेकाले निर्वाचनको वातावरण थप सुनिश्चित भएको बताउनुभयो । उहाँले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले डाक्नुभएको राजनीतिक दल, नेपाल सरकारका सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा आयोगले निर्वाचनका लागि आयोग तत्पर रहेको स्पष्ट राखेको बताउनुभयो ।
“हामीलाई बजेटको केही अपर्याप्तता थियो । अर्थ मन्त्रालयले माग वा खर्च हुने आधारमा थप रकम पनि निकासा दिने प्रतिबद्धता दिइसकेको छ”, कार्यबाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, “अब हामी नियमित कार्यक्रम अघि बढाउँछौँ । यो कुरा हामीले सरकार, राजनीतिक दल र सुरक्षा निकायलाई स्पष्ट भनेका छौँ ।”
निर्वाचनका लागि आयोगले करिब रु सात अर्ब बजेट माग गरेकामा अर्थ मन्त्रालयले रु पाँच अर्ब ९६ करोड स्रोत यसअघि सुनिश्चित गरिसकेको छ । आयोगले आजै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आव्हान गरेको छ । यसअघि यही मङ्सिर १४ गते सम्ममा निर्वाचनमा भाग लिने १२० राजनीतिक दलले आयोगमा निवेदन दिइसकेका छन् । रासस