Line Khabar
शनिबार, मंसिर २८, २०८२ | December 13, 2025
  • होमपेज
  • लुम्बिनी लायन्स बन्यो एनपीएल २०२५ च्याम्पियन

लुम्बिनी लायन्स बन्यो एनपीएल २०२५ च्याम्पियन

लुम्बिनी लायन्स बन्यो एनपीएल २०२५ च्याम्पियन

काठमाडौँ, २७ मंसिर ०८२ । साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पुनः उपविजेतामै सीमित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को च्याम्पियन बनेको छ । फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै पूरा गर्दै च्याम्पियन बनेको हो ।

कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो । लुम्बिनीले ६ विकेटको सहज जित निकाल्यो ।
हारसँगै सुदूरपश्चिम भने लगातार दोस्रो पटक उपविजेतामा सीमित बनेको छ । सुदूरपश्चिमले यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटले पराजित भएको थियो । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले आक्रामक सुरुआतसहित नौ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

लुम्बिनीको जितमा ओपनर दीनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए । पहिलो ओभरमा दीपेन्द्रसिंह ऐरीलाई चार छक्कासहित २७ रन प्रहार गर्दै दीनेशले लुम्बिनीलाई सानदार सुरुआत दिलाएका थिए । उनले १३ बलमा ३२३ को स्ट्राइकरेटसहित एक चौका र पाँच छक्का प्रहार गरे ।

अर्का ओपनर डार्सी शर्टले १३ बलमा तीन चौकासहित १४ रन थपे । कप्तान रोहितकुमार पौडेलले १६ र निरोशान डिकवेलाले ११ रन थपे । सन्दीप जोरा डक भए । दीलिप नाथ एक रनमा अविजित रहे ।

सुदूरपश्चिबाट हर्मित सिंहले दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए ।

त्यसअघि कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक लिएपछि लुम्बिनीले टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमलाई १९.१ ओभरमा ८५ रनमै समेटेको थियो ।

सुदूरपश्चिमलाई सस्तैमा रोक्न लुम्बिनीका कप्तान रोहितले घातक बलिङ गर्दै तीन विकेट लिए । रोहितले ११औँ ओभरमा लगातार तीन विकेट लिए । रोहितले ११औँ ओभरको चौथो बलमा सुदूरका कप्तान दीपेन्द्रलाई रुबेन ट्रम्पेलमनबाट क्याच गराए । पाँचौँ बलमा दीपक बोहरालाई सन्दीप जोराबाट क्याच गराए । यस्तै, सोही ओभरको अन्तिम बलमा पुनित मेहरालाई एलबीडब्लूको धरापमा पारे ।

एनपीएलको इतिहासमा कुनै पनि बलरले लिएको यो दोस्रो ह्याट्रिक हो । यसअघि प्रतियोगिताको दोस्रो संस्करणमा नै विराटनगर किंग्सका साहब आलमले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिक लिएका थिए । चार ओभरमा रोहितले १२ रनमात्र खर्चिए । रोहितको इकोनोमी रेट ३ को मात्रै रह्यो ।

शेर मल्ल र रुबेन ट्रम्पेलमनले पनि तीन विकेट नै लिए । शेरले चार ओभरमा १८ रन खर्चिए । २.१ ओभरमा ट्रम्पेलमनले दुईभन्दा तलको इकोनोमी रेटसहित तीन रनमात्र खर्चिए । तिलक भण्डारीको नाममा एक विकेट रह्यो ।

लुम्बिनीको बलरसामू कमजोर बनेको सुदूरको ब्याटिङतर्फ ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । क्रिजको एउटा एन्डबाट लगातार विकेट जाँदा सम्हालिएर खेलेका इशानले ५१ बल खेल्दा एक चौका प्रहार गरे ।

कप्तान दीपेन्द्रसिंह ऐरीले २० बलमा एक छक्कासहित १३ रन जोडे । हर्मित सिंहले ११ बलमा एक छक्कासहित १० रन थपे । आठ बलमा एक छक्कासहित स्कट कुग्गेलिनले पनि १० रन बनाए । सुदूरका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

ओपनर विनोद भण्डारी दुई बलको सामना गर्दा ‘डक’ भए । दीपक बोहरा र पुनित मेहरा ‘गोल्डेन डक’ भए । सेल्डन ज्याक्सनले एक र आरिफ सेखले ६ रन जोडे ।

प्रतियोगितामा लुम्बिनीले तालिकाको चौथो स्थानमा रहँदै प्लेअफ यात्रा तय गरेको थियो । इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जित निकालेको लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जित निकालेको थियो । यता, लिग चरणबाट शीर्ष स्थानमा रहँदै प्लेअफ आएको सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका