काठमाडौँ, २७ मंसिर ०८२। नयाँ नेतृत्व या पुरानै नेतृत्वको निरन्तरता भन्ने चर्को बहसकाबीच देशको एक प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुने छ ।
महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएको छ । उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा दुई सय भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको पनि उहाँले बताउनुभयो ।
महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीका अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।
महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईकाअनुसार भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कुटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइरहेको छ ।
महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न एमालेको २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी पाँच सय बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिने जनाइएको छ । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ ।
लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई एमालेले मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्वपूर्ण विभिन्न मन्दिर एकै ठाउँ देखाउने गरी ठूलो र कलात्मक मञ्च निर्माण गरेको जनाएको छ ।
टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखिएका छन् । तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका ‘साउन्ड सिस्टम’ जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सी राखिएको छ ।
महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालका अनुसार कलाकारले मञ्चमा नै राष्ट्रिय एकताको प्रतीक झल्काउने सांगीतिक प्रस्तुति दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
महाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ । पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको छ । उद्घाटन अघि गठ्ठाघर र जगातीबाट भव्य र्याली गरी आउने व्यवस्थासमेत गरिएको छ ।
यसैबीच, एमालेको हिजो बसेको सचिवालय बैठकले ११ औँ महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । बैठकले १०८ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनमा निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गर्ने निर्णय सचिवालय बैठकले गरेको हो ।
बैठकले विधान अधिवेशनबाट पारित दस्तावेजबाटै नेतृत्व चयन गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले भन्नुभयो । उहाँका अनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी संरचनामा आधारित भएर नेतृत्व निर्माण गरिने छ । अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १५ सदस्य रहने व्यवस्था विधानमा छ । एमाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने तयारी गरिएको छ ।
एमाले अध्यक्ष लड्ने तयारीमा रहनुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अवधारणापत्र महाधिवेशन प्रतिनिधिलाई वितरण गर्न दिने सहमति सचिवालय बैठकमा बनेको छ । पोखरेलको फरक दस्ताबेज महाधिवेशनको बन्दसत्रमा राख्न दिने सहमति भएको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । पोखरेलले मङ्सिर २२ गते महासचिव शङ्कर पोखरेललाई छुट्टै राजनीतिक एवं साङ्गठनिक दस्ताबेज बुझाउनुभएको थियो ।