काठमाडौँ, ३ पुस ०८२ । रास्वपा सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियामा छन् । नख्खु कारागार प्रशासनले लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लग्दैछ ।
रुपन्देहीको भैरहवा लग्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएका लामिछानेलाई भैरहवा विमानस्थलमा हुस्सु लागेर विमान जान नसक्दा काठमाडौँमै रोकिएका छन् । उनलाई भरतपुर विमानस्थलमा ओर्लिएपछि सडकमार्गहुँदै भैरहवा लग्न लागिएको छ ।
बिहान साढे ८ बजे नै त्रिभुवन विमानस्थल पुगेका लामिछाने भैरहवा विमानस्थल नखुलेका कारण काठमाडौँमै रोकिएका हुन् । फस्ट फ्लाइटमै रुपन्देही लग्ने तयारी भएपनि विमानस्थलमा हुस्सु लागेका कारणले ढिलाइ भएको लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिएका छन् ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका रवि आठ महिनादेखि थुनामा छन् । उनले विगो बराबरको रकम धरौटी राखेर रिहा हुन पाउनुपर्ने माग गरेका थिए ।
उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेबाट पेश भएको २ करोड ७४ लाख ८४ हजार रूपैयाँ बराबरको बैंक ग्यारेन्टीलाई स्वीकार गर्दै थुनामुक्त गर्न आदेश दिएको थियो । बिहीबार कार्यालय समय सकिइसकेकाले शुक्रबारमात्रै उनको रिहाइको प्रक्रिया सुरु हुनेछ । त्यसका लागि रवि आज काठमाडौंबाट रुपन्देही जान लागेका हुन् । उनलाई भैरहवा कारागारबाट काठमाडौं सारिएको थियो ।