Line Khabar
आइतवार, मंसिर २९, २०८२ | December 14, 2025
  • होमपेज
  • अध्यक्ष ओलीमाथि इश्वर र सुरेन्द्रको प्रश्नै प्रश्न : जे अनुकूल लाग्छ त्यही गर्दै जाने हो ?

अध्यक्ष ओलीमाथि इश्वर र सुरेन्द्रको प्रश्नै प्रश्न : जे अनुकूल लाग्छ त्यही गर्दै जाने हो ?

अध्यक्ष ओलीमाथि इश्वर र सुरेन्द्रको प्रश्नै प्रश्न : जे अनुकूल लाग्छ त्यही गर्दै जाने हो ?

काठमाडौँ, २८ मङ्सिर ०८२ । नेकपा (एमाले)मा विधान अधिवेशनको निर्णय उल्ट्याएर पदाधिकारी र केन्द्रीय सदस्यको सङ्ख्या साविक बमोजिमकै कायम गर्ने निर्णयको पार्टीकै बरिष्ठ नेताहरूले चर्को विरोध र आलोचना गरेका छन् । वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेले उक्त निर्णयको विरोध गर्दै अध्यक्ष केपी ओलीमाथि प्रश्नै प्रश्न उठाएका छन् ।

आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी विधानअनुसार चल्नुपर्ने भन्दै महासचिवले प्रस्तुत गरेको कार्यसूचीअनुसार अघि बढ्न आग्रह गरे ।

पोखरेलले भने, ‘विधान अनुसार चलौँ। महासचिवले प्रस्तुत गर्नुभएको कार्यसूची अनुसार चलौँ । दायाँबायाँ नगरौँ।’

उनले प्रश्न उठाउँदै भने, ‘के हाम्रो विधान अस्थायी हुन् रु जे अनुकूल हुन्छ त्यही गर्दै जाने हो ? हिजो विधान अधिवेशन अगाडि संख्या घटाउँ भन्ने तपाईँहरू नै होइन ?’

उनले भने, ‘बदलिएको परिस्थितिले अंक बढाऊ भनेको होइन ? बदलिएको परिस्थितिले त हामीलाई बदलिऊ भनेर जबरजस्त सन्देश दिएको छ। के संख्या बढाएर क्षमता बढ्छ भने अस्ति हाम्रो क्षमता जाचिएन ?’

दुई कार्यकालको विषय पनि उठाइएको उल्लेख गर्दै पोखरेलले त्यसमा छलफल नहुने हो कि भन्ने प्रश्न गरे। उनले भने, ‘अरू बाहेक हुने रु यस्तो तर्कले हामीलाई कता पुर्‍याउँछ ?’

त्यसैगरी, उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि केन्द्रीय कमिटी बैठकबाट भएको विधान संशोधनको निर्णयप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पाण्डेले विधान अधिवेशनको औचित्यमाथि प्रश्न उठाएका छन् ।

उनले लेखेका छन्, ‘के हाम्रा विधानहरू अस्थायी हुन् र ? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने यो सरासर मनपरी होइन भने के हो ?’

पाण्डेले पार्टीको यो निर्णयलाई मनपरीतन्त्रको संज्ञा दिँदै त्यस विरुद्धको लडाइँ जारी रहेको बताएका छन्। उनले भनेका छन्, ‘अहिले आएर दायाँ–बायाँ गर्ने हो भने विधान अधिवेशनको औचित्य नै समाप्त हुन्छ । यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ । पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य छ।’

एमालेको दशौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधनको निर्णय गरेपछि पार्टीका एकथरि नेताहरूले त्यसप्रति गम्भीर असहमति जनाएका हुन्। गत भदौमा भएको विधान अधिवेशनबाट पदाधिकारी संख्या १५ र केन्द्रीय कमिटी २५१ रहनेगरी निर्णय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका