काठमाडौँ, ११ पुस ०८२ । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा आज प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभाको निर्वाचनमा जान ११४ दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रिय हितका सवालमा सबै एकताबद्ध हुनुपर्ने धारणा राख्नुभएको हो ।
“चुनावमा भाग लिन ११४ दल दर्ता भएका छन्, फरक विचार भएर नै यति धेरै दल दर्ता भएका होलान्”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “विचारमा विविधता हुनु र आफ्ना विचारको पैरवी गर्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष हो । तर यति हुँदाहुँदै पनि राष्ट्रिय हितका निम्ति देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ ।”
निर्वाचनको पक्षमा पनि अहिले सबै यसैगरी एक ठाउँमा उभिने बेला आएको उहाँले बताउनुभयो । “विषम परिस्थितिमा हामी सबै सम्हालिएर अगाडि बढ्नुपर्नेछ”, उहाँले अगाडि थप्नुभयो, “सबैको विचार एउटै हुँदैन । मेरो विचारमात्र ठिक भन्नु पनि लोकतन्त्रसम्मत हुँदैन । आफ्ना विचार जनतामा लिएर र जनताबाट अनुमोदित भएर आउने अवसर निर्वाचन हो । त्यसैले निर्वाचनलाई सफल पारौँ । देशलाई अप्ठ्यारो अवस्थाबाट जोगाउन तपाईँहरू सबै एक ठाउँमा आउनुपर्छ ।”
उहाँले चुनाव सफल बनाउन सरकार आफ्नोतर्फबाट सम्पूर्ण रूपले तयारी गरिरहेको जानकारी दिँदै सुरक्षाका सवालमा पनि शङ्का नगर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, “तपाईँ–हामी सबै एक ठाउँमा हुने हो भने कसैले केही गर्न सक्दैन । हतियार, कैदी धेरै फिर्ता भइसकेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि स्रोतसाधन उपलब्ध गराइसकिएको छ । निर्वाचनका लागि छुट्टै प्रहरी भर्तीको प्रक्रिया अघि बढेको छ । ठूलै भूकम्प वा आँधीतुफान आएमात्र चुनाव रोकिएला । नत्र फागुन २१ गतेको चुनाव कुनै हालतमा सर्दैन । तपाईँहरू पनि तयारी गर्नुहोस् ।”
कुनै विषयमा मत–मतान्तर र छलफल हुनु सामान्य भए पनि देशले ठूलो क्षति बेहोरिसक्दा पनि आत्मसमीक्षा नगर्ने प्रवृत्तिबाट भने आफू आश्चर्यचकित भएको उहाँको भनाइ थियो । “अहिले हेर्नुहोस्, दक्षिण एसियाका साना मुलुकहरू प्रताडित भइरहेका छन् । हामी कस्तो मुलुक बन्ने, कस्तो बनाउने भनेर पनि एकपटक मनन गरौँ । कुनै विषयमा मत–मतान्तर र छलफल हुनु एउटा कुरा हो । तर, देशै तहसनहस हुँदा पनि नचेत्ने प्रवृत्ति भने अनौठो छ ।” उहाँले अगाडि थप्नुभयो, “यो तत्व र त्यो तत्वले खेल्यो भन्छन् । तर, त्यस्ता तत्वलाई खेल्ने ठाउँ कसले बनाइदियो रु कसले निम्त्यायो रु हामी बाहिरियालाई दोष दिन्छौँ, आफैँतिर फर्केर भने हेर्दैनौँ ।”
अहिले मुलुकमा पुरानो र नयाँ विचारबीच द्वन्द्व भइरहे पनि यो एक घरभित्रको मामिला रहेकाले पारिवारिक वातारणमा मिलाउनुपर्ने उहाँले बताउनुभयो । “हामी सबै एक घरभित्रका परिवार हौँ । हाम्रा बालबालिका असन्तुष्ट देखिए भने उनीहरूले के खोजेका हुन् भनेर हेरौँ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “पक्कै पनि यो पुरानो र नयाँ सोचबीचको द्वन्द्व हो । पुरानो सोच, पुरानो तरिका र पुरानै व्याख्याले अब चल्नेवाला छैन । हामी सुध्रिन र सच्चिन जरुरी छ ।”
यो सरकार चुनाव गराउन आएकाले त्यसमा आफू दृढ रहेको पनि उहाँले दोहोर्याउनुभयो । उहाँले भन्नुभयो, “हामी चुनाव गराउनै आएका हौँ । यो सरकारको गठन गर्दा नै फागुन २१ को मिति तोकेर चुनाव गराउने कार्यादेश दिइएको हो । यसबाट दायाँबायाँ गर्ने छुट हामीलाई छैन ।” नागरिक बचाउ दल, नेपालका तर्फबाट अध्यक्ष माधव कल्पितले प्रधानमन्त्री कार्कीसमक्ष पाँच सूत्रीय ज्ञापनपत्र पनि बुझाउनुभएको थियो ।