काठमाडौँ, २ पुस ०८२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि आज भएको मतदानमा राति १० बजेसम्म एक हजार २८२ मत खसेको छ ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा जारी भएको मतदानमा १० बजेसम्म एक हजार २८२ जनाले मतदान गरेका एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो । बिहान साढे नौ बजेदेखि मतदान सुरू भएकोमा मतदान गर्नका लागि सरदर एक जनालाई २५ देखि ३० मिनेट लाग्ने गरेको छ ।
उहाँले राति १२ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई अबेरसम्म मतदान गर्न पाउने व्यवस्था गरिने बताउनुभयो । निर्वाचन आयोग उपाध्यक्ष पोखरेलले हालको अवस्थाअनुसार भोलि बिहीबार बिहान ८ बजेसम्म मतदान हुने अनुमान रहेको बताउनुभयो । “हाल मत हाल्न लाग्ने गरेको समयअनुसार भोलि बिहान ८ बजेसम्म मतदान हुने देखिन्छ”, उहाँले भन्नुभयो, “एक जनालाई सरदर २५ देखि ४० मिनेटसम्म मतदान गर्न समय लागेको छ ।”
आयोगले लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरेको छ । टोकन लिएर बसेकालाई आयोगले बोलाएपछि मतदान गर्न जाने सुविधा छ ।
१९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने दुई हजार २६३ मतदाता प्रतिनिधि रहेका छन् । हाल मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएका छन् । मतदान सकिएको दुई घण्टामा परिमाण सार्वजनिक हुने आयोगका उपाध्यक्ष पोखरेलले बताउनुभयो ।