काठमाडौँ, २९ मङ्सिर ०८२ । स्थानीय बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला दुई लाख ५६ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपियाँ बढेर दुई लाख ५८ हजार आठ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
यसअघि ३१ असोजमा सुन प्रतितोला दुई लाख ५८ हजार पुगेको थियो । आइतबार त्यो पुरानो रेकर्ड पनि तोडेर नयाँ रेकर्ड कायम गरेको हो । आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य चार हजार तीन सय अमेरिकी डलर पुगेको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले संयुक्त राज्य अमेरिकाको फेडरल रिजर्भ बैङ्कले ०.२५ प्रतिशत ब्याजदर घटाएकाले सुनचाँदीमा लगानी बढ्दा मूल्य बढ्न गएको जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उतारचढाव भएकाले थप घटबढ हुन सक्ने देखिएको उहाँले जानकारी दिनुभयो । यसअघि तोलामा दुई लाख ५८ हजार रुपियाँ पुगेको सुनको मूल्य घटेर गत कात्तिक पहिलो साता दुई लाख ३६ हजारसम्म झरेको थियो । त्यसपछि निरन्तर मूल्य बढ्दै गएको हो । एक महिनाको अवधिमा सुनको मूल्य तोलामा २२ हजार पाँच सय रुपियाँले बढेको महासङ्घले जनाएको छ ।
पछिल्लो एक महिनादेखि सुनको मूल्य निरन्तर बढ्दा स्थानीय बजारमा कारोबार न्यून भएको व्यवसायीको भनाइ छ । सुनको मूल्य बढ्दै गएको र बिहेको सिजन सकिन लागेकाले बजारमा माग कम हुँदा कारोबार न्यून भएको हो । पुस महिना अफ सिजन भएकाले पनि कारोबार ठप्प हुने गरेको व्यवसायीको भनाइ छ । अर्कोतर्फ अमेरिकी डलरको मूल्यवृद्धिले पनि अन्तर्राष्ट्रिय बजारमा भन्दा छिटो मूल्य रेकर्ड तोडिएको महासङ्घले जनाएको छ ।